राष्ट्रिय

हलेसीको नगरअस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी नियन्त्रणमा

- डम्बरसिं राईखोटाङ

खोटाङको हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी हलेसी तुवाचुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ । ठेक्का लिएर काम नगरी अलपत्र पार्ने नमूना हिमालयन जेवी विराटनगर सम्वद्ध रमेश बस्नेत चढेको कार नियन्त्रणमा लिएको हो ।

कानुनी आधारमा पटक–पटक ताकेता गर्दा समेत नटेरेकाले बोलाएरै नियन्त्रणमा लिएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताउनुभयो । गाडी नियन्त्रणमा लिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङलाई लिखित जानकारी समेत गराइएको उहाँको भनाई छ । 

काम नगरेकाले कालो सूचीमा राख्ने जानकारी गराउदै बोलाएपछि गाडी नियन्त्रणमा लिएर काम गर्नेबारे लिखित प्रतिबद्धता समेत गराइएको नगरप्रमुख राईले जानकारी दिनुभयो । सो प्रतिबद्धता पत्रमा चैत १२ गतेदेखि काम सुरु गर्ने बताईएको छ । 

सो निर्माण कम्पनीले २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गतेसम्झौता गरेको थियो ।संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रूपैयाँ बजेटको सो अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो ।