राष्ट्रिय

दार्चुला जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट धनगढी रेफर

- मनोज बडू दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी रेफर गरिएको छ । आज बिहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु र ४ जना घाइते भएका थिए । 

घाइतेमध्ये तीन जनालाई धनगढी रेफर गरिएको र एक जनाको उपचार भईरहेको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले हेली एम्बुलेन्स मार्फत जीप चालक प्रकाश ठगुन्ना, अकबर महर र मिन बहादुर पाललाई थप उपचारका लागि धनगढी रिफर गरिएको बताउनुभयो । 

घाइतेमध्ये जीप चालक प्रकाशको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जलस्रोत तथा सिचाई डिभिजन कार्यालय दार्चुलामा कार्यरत शैल्यशिखरा–१ बस्ने ४५ वर्षका भरत तितरा र मालिकार्जुन–७ का ३५ वर्षीया मनिसा पालको मृत्यु भएको थियो । उनीहरुको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।