तराईमा धान उत्पादन घट्यो
- काठमाडौंअन्नभण्डारका रुपमा चिनिएको मधेशमा यस वर्ष धान उत्पादन घटेको छ । नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष उत्पादनमा गिरावट आएको हो ।
रोपाईंको मुख्य समय असार–साउनमा पर्याप्प वर्षा नहुनु, लामो समयसम्म खडेरी पर्नु र मलखादले धानको गांज हाल्ने प्रक्रियामा अवरोध पु¥याउंदा त्यसको असर धान उत्पादनमा परेको हो ।
मधेशका ६६ प्रतिशत किसान कृषि पेशामा छन्, जहां धान, गहुं, मकै बढी उत्पादन हुने गरेको छ ।
तर रोग र किराको प्रकोपले मधेशका कतिपय जिल्लामा धान उत्पादनमा समस्या देखिंदै आएको छ ।
सिंचाइको असुविधा र भूमिगत सिंचाइका लागि विद्युत महसुल महंगो हुनुले किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
समयमै मल नपाउंदा उत्पादकत्व घटेको किसानको गुनासो छ ।
बीउको गुणस्तरमा समस्या हुंदा कतिपय ठाउंमा धानको बोट मात्र अग्लो हुने तर बाला नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
मधेशमा धान उत्पादन घट्नुको सिधा असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने निश्चित रहेको मधेश मामिलाका जानकार चन्द्रकिशोरले बताउनुभयो ।
सप्तरीमा यो वर्ष १ लाख ९७ हजार ४ सय ९४, सिरहामा १ लाख ७९ हजार ४ सय ९६.४९, धनुषामा १ लाख ३८ हजार १ सय ७७, महोत्तरीमा ८० हजार ९, सर्लाहीमा १ लाख ३७ हजार ६ सय ३, रौतहटमा ९५ हजार १ सय ३० र पर्सामा १ लाख ७२ हजार ९ सय ६७ टन धान उत्पादन भएको छ ।