राष्ट्रिय

रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते

रुपन्देही

रुपन्देहीमा प्रहरीको गोली लागेर रुपन्देहीमा एक जना घाइते भएका छन् । प्रहरीको गोली लागेर रुपन्देहीको रोहिणी गाउँपालिका खुरहुरियाका विशाल यादव घाइते भएका हुन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भैरहवामा उपचार भइरहेको छ । लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । 

प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौंको गौशाला–पिंगलास्थानमा पनि प्रहरीले गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका हुन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।