आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने नेपाल चिकित्सक संघको भनाइ
काठमाडौंचिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) ले हाललाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको छ । अस्पतालहरुमा जनशक्ति नथपिएकाले व्यवस्था कार्यान्वयन गर्न नसकिने संघले जनाएको हो । सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै अस्पतालहरुले समेत ओपीडी सेवा बन्द गर्ने निर्णय गरेका थिए ।
सो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा प्रवाहमा अवरोध नआउने गरी आइतबारसमेत ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । यद्यपी, संघले विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा जनशक्ति अभावका कारण सो व्यवस्था कार्यान्वयन गर्न नसकिने जनाएको हो ।
यस्तो अवस्थामा अतिरिक्त कार्यभार थपिँदा सेवाको गुणस्तरमा असर पर्ने जोखिम रहेको संघले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित नयाँ बिदा व्यवस्थाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले अस्पतालहरूलाई कार्यभार र उपलब्ध जनशक्ति अनुसार आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो ।