रास्वपा संसदीय दलको बैठक आज बस्दै
- काठमाडौंसत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज बस्दै छ । दिउंसो साढे १२ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो ।
भोली शुक्रबार संसदीय समितिका सभापतिहरुको निर्वाचन हुने भएका कारण पार्टीका तर्फबाट उम्मेदवारीबारे छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
आज संसदीय समितिका सभापतिहरुमा मनोनयन दर्ता गर्ने कार्यतालिका छ । त्यसअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
गत चैत २७ गते सभामुख डोलप्रसाद अर्यालले भोलीका लागि संसदीय समितिका सभापतिहरुको निर्वाचन तोक्नुभएको थियो ।
सोही दिन उहांले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सदस्यहरुको नामावली पारित गरेका थिए ।
संघीय संसदअन्तर्गत १०, राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति र २ वटा संयुक्त समिति छन् ।