सल्यान दुर्घटना : मृतक सँख्या ४ पुग्यो
- सल्यानसल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । गम्भीर घाइते ३० वर्षका मानबहादुर थापाको सुर्खेतको मेहलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले घटनास्थलमै थाराका ५२ वर्षका टोपबहादुर थापा, ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते भएका १४ जनाको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ । १४ मध्ये ६ जनाको अवस्था गम्भीर छ ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–८ थारादेखि कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतिर जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । जिपमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।