आज ७७ औं कम्युनिस्ट स्थापना दिवस
- काठमाडौंनेपालका विभिन्न कम्युनिस्ट दलहरुले आज स्थापना दिवस मनाउँदै छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभरका कम्युनिस्ट पार्टीले आज विविध कार्यक्रमको आयोजना गरेका हुन् । विभिन्न उतारचढाव पार गर्दै आएको नेपालको कम्युनिस्ट आन्दोलनले पछिल्लो आमनिर्वाचनपछि ठुलो धक्का खाएको छ ।
कम्युनिस्ट पार्टीहरूले संसदीय राजनीतिमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न नसक्दा तथा नेतृत्वको उच्च महत्वाकांक्षाका कारण अहिलेको अवस्था आएको कतिपय कम्युनिस्ट नेताहरुको भनाई छ ।
कम्युनिस्ट अगुवा रामप्रसाद अधिकारीले नेताभित्रको अह्मता र गल्ती गरेपछि माफी माग्नु पर्दैन भन्ने अतिवादी चिन्तनका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउनुभयो ।
जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
श्रेष्ठको अगुवाइमा स्थापना भएको कम्युनिस्ट पार्टीमा स्थापनाकालदेखि नै सुरु भएको फुट र एकताको श्रृंखला अझै रोकिएको छैन । स्थापनाकालदेखि नै विचार र नेतृत्वगत विवादमा परेको कम्युनिस्ट आन्दोलनमा एकता र विभाजनको चक्र निरन्तर दोहोरिँदै आएको छ । निर्वाचन आयोगमा कम्युनिस्ट नाममा १४ वटा पार्टी दर्ता भएको देखिन्छ ।