राष्ट्रिय

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित सुकुम्बासीलाई घर निर्माण गरिदिने

- डम्बरसिं राईखोटाङ

हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंबाट विस्थापित भएका नगरबासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौंका विभिन्न सुकुम्बासी क्षेत्रबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरबासीले गाउँमै घर बनाउन चाहेमा त्यसका लागि सहयोग गर्ने भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका अनुसार काठमाडौंको विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएपछि गाउँमै आएर बस्न चाहने तर घर नभएका नगरबासीलाई घर निर्माण गरिदिने भएको हो । बुधबारको नगर कार्यपालिकाको बैठकले बढीमा ५ लाखसम्म घर निर्माणमा सहयोग गर्ने निर्णय गरिएको राईले बताउनुभयो ।

 ‘काठमाडौंका सुकुम्बासी वस्तीबाट विस्थापित भएका हाम्रो नगरका बासिम्दाहरूले गाउँमै बस्न चाहनु भयो र घर छैन भने उहाँहरूलाई ५ लाखसम्मको घर निर्माणमा सहयोग गर्ने निर्णय भएको छ’ राईले भन्नुभयो,–‘त्यसमा थपेर त्यो भन्दा बढी लगानीको घर बनाउन चाहनु भयो भने नगरले ५ लाख रूपैयाँसम्म दिन्छ ।’

विस्थापितको पहिचान गर्न नगर उपप्रमुख रमेश राउतको संयोजकत्वमा नगर प्रवक्ता कमल गिरी र नगरका कर्मचारी सुनिल रिजाल सम्मिलित समिति समेत निर्माण गरिएको छ । उक्त समितिले गाउँमै बस्न चाहने विस्थापितलाई आवेदन दिन आह्वान गर्ने र आवेदन दिनेहरूमध्येबाट वास्तविक विस्थापित छनौट गरी उनीहरूलाई घर निर्माणमा सहयोग गरिने उपप्रमुख रमेश राउतले बताउनुभयो ।

यसअघि पनि घर विहीन ३ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएकाले त्यसै मापदण्डको आधारमा विस्थापित सुकुम्बासीलाई पनि घर निर्माण गरिदिने नगरपालिकाका प्रवक्त कमल गिरीले बताउनुभयो ।