राष्ट्रिय

'सेलेक्टयूएसए’ सम्मेलनमा नेपाल–अमेरिका आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल

काठमाडौं

 अमेरिकामा आयोजित ‘सेलेक्टयूएसए’ लगानी सम्मेलनमा सहभागी अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल को प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउ सँग भेटवार्ता गरेको छ ।

भेटका क्रममा पूर्व अमेरिकी राजदूतसमेत रहेका ल्यान्डाउले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन स्थिर नीतिगत संरचना र निरन्तर आर्थिक कूटनीति आवश्यक रहेको बताएका थिए । उनले राजनीतिक नेतृत्व परिवर्तनशील भए पनि दीर्घकालीन समृद्धिका लागि नीतिगत निरन्तरता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

नेपालप्रति आत्मीयता व्यक्त गर्दै उनले भविष्यमा नेपाल भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलको नेतृत्व आमिर आर थापा ले गरेका थिए । उनले उपविदेशमन्त्री ल्यान्डाउलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका थिए ।

भेटका क्रममा प्रतिनिधिमण्डलले एमच्याम नेपालको विस्तार हुँदै गएको गतिविधिबारे जानकारी गराउँदै हाल १४ वटा क्षेत्रमा आबद्ध ६६ अमेरिकी सम्बन्धित कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको उल्लेख गरेको थियो । यसले नेपाल–अमेरिका व्यापारिक सम्बन्ध थप विस्तार हुँदै गएको संकेत गर्ने बताइएको छ ।

एमच्याम नेपालले ‘सेलेक्टयूएसए’ लगानी सम्मेलनमा नेपालको सहभागिता सुनिश्चित गर्न सहयोग गरेको भन्दै अमेरिकी विदेश मन्त्रालय र अमेरिकी वाणिज्य मन्त्रालयप्रति आभार व्यक्त गरेको छ ।

सम्मेलनको विशेष सत्रमा विलियम किम्मिट ले प्रमुख मन्तव्य दिँदै संयुक्त राज्य अमेरिका बलियो नीतिगत वातावरण, नवप्रवर्तन र बजार अवसरका कारण विदेशी प्रत्यक्ष लगानीका लागि आकर्षक गन्तव्य बनेको बताएका थिए ।

एमच्याम नेपालले नीतिगत स्थायित्व, निजी क्षेत्रको नेतृत्व र उद्यममैत्री वातावरणमार्फत नेपालको लगानी परिवेश सुधार गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । साथै, ‘सेलेक्टयूएसए’ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले नेपाल र संयुक्त राज्य अमेरिका बीच विश्वासमा आधारित साझेदारी तथा लगानीका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा शितेस भट्टराई, अभय पौडेल, सबिन थापा, अनिश श्रेष्ठ र दिनेश सिलवाल सहभागी थिए ।

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल नेपाल र संयुक्त राज्य अमेरिका बीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने प्रमुख व्यावसायिक मञ्च हो । यसले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायिक वातावरण सुधार र दिगो आर्थिक विकास प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ ।