राष्ट्रिय

भोटेकोशी बाढी पीडितका लागि पाँचखालका मेयर खरेलको २० लाख सहयोग

- केएफएम डेस्ककाठमाडौं

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि व्यक्तिगत रूपमा २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

नगर प्रमुख खरेलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् ।

उनले निर्वाचनका बेला आफ्नो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएकाले सोही प्रतिबद्धताअनुसार राहत रकम सहयोग गरेको बताए । ‘निर्वाचनका बेला आफ्नो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको थिएँ,’ खरेलले भने, ‘सोही प्रतिबद्धताअनुसार बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको हुँ ।’

खरेलले आफ्नो बाँकी तलबसमेत जनसेवामै खर्च गर्ने बताएका छन् । जनताबाट प्राप्त जिम्मेवारीको सानो अंश जनताकै दुःखमा फर्काउने प्रयासस्वरूप सहयोग गरेको उनको भनाइ छ ।

यसअघि पाँचखाल नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि छुट्टै १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरूको एक साताको तलब बराबरको रकमसमेत राहत कोषमा उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका पाँचखाल नगरपालिकाका नागरिकका परिवारलाई जनही एक लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णयसमेत नगरपालिकाले गरेको छ ।