पाँचथरमा वर्षेनी दुई अर्ब रुपैंयाँको रुख विक्री
- पाँचथर
पाँचथरका सर्वसाधारणले अलैंची, चिया, कफी, चिराइतो जडिबुटी जस्तै रुख बेचेर वर्षेनी दुई अर्ब रुपैंयाँ आम्दानी गर्दै आएका छन् । आफ्नै घरवारी, कान्लामा हुर्काएको रुख विक्री गरेर राम्रो आम्दानी हुने भएपछि जिल्लाका किसान खाद्यान्न र नगदे बाली जस्तै बोट विरुवा रोप्ने तर्फ आर्कषित भएका हुन् । बिरुवा हुर्किएर ठूलठूलो रुख भएपछि आवश्यकता अनुसार बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
किसानले वैकल्पिक आयश्रोतको लागि आवादी जग्गामा छिट्टै हुर्किने र चाँडो आम्दानी दिने कुकाठ उतिस, मलेतो, चिलाउने, सल्लाजस्ता वोट विरुवा रोप्ने गरेका छन् । वैकल्पिक आयश्रोत भएपछि हरेक व्यक्ति तथा घरपरिवारले रुख बोट बिरुवा रोप्ने प्रचलनले जिल्लामा वनको क्षेत्रफल समेत वृद्धि भएको वन पैदावर महासंघका अध्यक्ष रमेश राईले बताउनुभयो ।
मिक्लाजोङ गाउँपालिकाको, फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका, कुम्मायक गाउँपालिका लगायतका अधिकांस बासिन्दाले व्यावसायिक रुपमा वन पैदावरको निम्ति बोट बिरुवा रोप्ने गरेका छन् ।
बीस तीस वर्षअघि रोपेको बिरुवा हुर्किएर घनाजङ्गल भएको छ, वर्षेनी रुख काटेर बिक्री गर्छौं, मिक्लाजोङ गाउँपालिका –४ का शिक्षक साङगेन राईले भने, रुख रोपेपछि आफै बढ्छ, केही गर्नुपर्दैन, एउटा काट्यो, अर्को हुर्किन्छ, आम्दानी दिइरहन्छ ।
एक सय वर्षदेखि वृक्षरोपण गरेर व्यावसायिक रुपमै मिक्लाजोङ गाउँपालिकाको रवि क्षेत्रका मानिसहरुले वैकल्पिक आयश्रोतको रुपमा लिने गरेको रविबाट पहिलो विद्यावारिधि गरेका प्राध्यापक डा.नोवलकिशोर राईले बताउनुभयो । रुख रोपेर आम्दानी हुन्छ भन्ने कुरा प्राय: हरेक व्यक्तिले बुझेका छन्, डा.राईले भन्नुभयो, आ–आफ्नो बारीमा रुख हुर्काएका छन्, हाम्रो गाउँमा कोही गरीब छैनन् ।
जिल्लाका सर्वसाधारणले छोराछोरीको पढाइ खर्च, विवाह खर्च, व्रतबन्ध, घरजग्गा किन्ने, खाद्यान्न, लत्ताकपडा, भााडाकुँडा, गरगहना, सवारी साधन खरिद लगायत सम्पूर्ण घरखर्च रुख, बोट बिरुवा विक्री बाटै जुटाउने गरेको जिल्ला वन अधिकृत देवेशमणी त्रिपाठीले बताउनुभयो ।
वन पैदावर काष्ठ र गैरकाष्ठ वस्तुको बिक्री तथा ओसार पसार गर्ने कार्यलाई नकारात्मक दृष्टिले हेर्ने गरिएपनि पाँचथरमा वन ऐन र नियमावलीमा व्यावस्था भएअनुसार कानुनी प्रक्रिया पूरा गरेर वर्षेनी अर्वौ रुपैंयाँ बराबरको वन पैदावरबाट कारोबार हुने गरेको जिल्ला वन पैदावर महासंघले जनाएको छ । रुख कटान, काठको गोलिया निकासी पैठारी कारोबारबाट वर्षेनी दुई करोड रुपैंयाँसम्म राजश्व अशुल हुने गरेको छ ।
वन पैदावर काठ र गैर काष्ठ वस्तुको कारोबार गरेवापत जिल्ला समन्वय समितिलाई निकासी कर र कोष तथा लेखा नियन्त्रण कार्यालयमा वन ऐनमा तोकिए बमोजम मुल्य अभिवृद्धि कर बुझाउने गरेको राष्ट्रिय वन पैदावर संघ पाँचथरका महासचिव सूर्य मगरले बताउनुभयो ।
यसवर्ष मुल्य अभिवृद्धि करवापत तीन करोड ७५ लाख ९५ हजार ३ सय ६९ रुपैंयाँ अशुल भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यसमध्ये वन पैदावर कारोबारबाट एक करोड २९ लाख ७२ हजार ६ सय ५५ रुपैंयाँ मुल्य अभिवृद्धि कर संकलन भएको छ । पाँचथरबाट वर्षेनी १२ लाख घनफिट गोलिया काठ निकासी हुने गरेको छ । गत वर्ष ११ लाख १७ हजार ५ सय ८० घनफिट लकडी निकासी भएको थियो । गतवर्ष एक करोड ६४ लाख ९ हजार एक सय १४ रुपैंयाँ राजश्व अशुल भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
जिल्लामा उत्पादित रुख र काठले जिल्लामा सञ्चालित डेढ सय वटा प्लाइउड भेनियर उद्योग संचालित रहेको जिल्ला वन अधिकृत देवेशमणी त्रिपाठीले बताउनुभयो । वन पैदावर बिक्री वितरणका लागि घरेलु तथा साना उद्योग र कम्पनी रजिष्ट्रारमा दर्ता भएका एक सय ५० वटा वनपैदावर व्यावसायी छन् । हरेक व्यावसायी कम्पनीले वर्षेनी ६० जना श्रमिकलाई रोजगारी दिने गरेको राष्ट्रिय वन पैदावर संघका महासचिव सूर्य मगरले जानकारी दिनुभयो ।
जिल्लाको करीव ५७ हजार ७ सय ७ हेक्टर जङगलमध्ये एक सय ७६ वटा सामुदायिक वन उपभोक्ता समुहलाई १३ हजार ७ सय ६७ हेक्टर, दुई सय ७ वटा कबुलियती वन समुहलाई ६ सय ६९ हेक्टर र दुई वटा धार्मिक वन समुहलाई १७ हेक्टर वन संरक्षणको जिम्मेवारी हस्तान्तरण गरिएको छ । फिदिम नगरपालिका –६ शिवाका ज्ञानबहादुर लिम्बू र फालेलुङ–५ प्राङबुङका रजनी केसीले ५ हेक्टर क्षेत्रफलमा निजी वन दर्ता गरेका छन् ।
ज्ञानबहादुरले २५ रोपनी ६ आना ४ पैसा ५ दाम र केसीले २५ रोपनी ४ आना दुई दाम क्षेत्रफल निजी वनको रुपमा दर्ता गरेको जिल्ला वन कार्यालयले जनाएको छ । वनक्षेत्रबाट काठको गोलिया लकडी जस्तै वनपैदावर अर्गेली, लोक्ता, मजितो, सतुवा, चिराइतो समेत एक लाख २१ हजार ४ सय ८८ केजी निकासी गरी एक लाख एक हजार एक सय ३६ रुपैंयाँ कर संकलन भएको वन कार्यालयले जनाएको छ ।