अन्य

सिरहाका किसान मुसुरो खेती तर्फ आकर्षित

- भरतजर्घा मगरसिरहा

सिरहा लहान नगरपालिकाका किसान मुसुरो खेतीतर्फ आकर्षित भएका छन् । सिंचाई सुविधा नहुने जग्गामा समेत मुसुरो खेतीबाट राम्रो आम्दानी हुने भएपछि जिल्लाका किसान त्यसतर्फ आकर्षित भएका हुन् । लहान नगरपालिका २२ सिसवनीका मुसहर समुदायका ३२ किसान जग्गा भाडामा लिएर मुसुरो खेती गरिरहेका छन् । मुसहर समुदायबाहेक जिल्लाका गाढा, बेताहा, कटहा, हरिनगरा, पडरिया, सिसवनी र पोखर भिण्डाका ४ सय २० किसान ११ वटा समूहमा आवद्ध भई सामूहिक मुसुरो खेतीमा सक्रिय छन् ।

खाद्य तथा पोषण सुरक्षा र जीविकोपार्जनमा टेवा पुगेपछि सिरहाका किसानहरुले १० हेक्टर जग्गामा विभिन्न प्रजातिका मुसुरोको उत्पादन थालेका छन् । जिल्ला कृषि विकास कार्यालय सिरहाको तथ्याङ्क अनुसार जिल्लामा १५ हजार ५ सय हेक्टर जमिनमा १७ हजार किलोग्राम मुसुरो उत्पादन हुन्छ । सरकारी तथ्याङ्क अनुसार नेपालबाट २९ देशमा ३७ हजार ५ सय ६९ दशमलव ९ मेट्रिक टन मुसुरोको दाल निर्यात हुने गरेको छ । यसबाट ५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको आम्दानी हुने गरेको सरकारी तथ्याङ्क छ । 

सिसवनीस्थित मुसुरो खेती अनुगमनमा पुगेका लहान नगरपालिकाका प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले खाद्य तथा पोषण सुरक्षा सहित जीविकोपार्जन र आयआर्जन बृद्धिका लागि पकेट क्षेत्र घोषणा गरी मुसुरो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।