अन्य

एकसाता देखि नेपाली चियाको निकासी ठप्प

काँकडभिट्टा

भारतीय भन्सारको अवरोधका कारण एकसाता देखि नेपाली चियाको निकासी ठप्प भएको छ । चिया लोड भएका एक दर्जन ट्रक भारत पश्चिम बंगालको पानी ट्याङ्की भन्सार परिसरमा रोकिएका छन् । चिया निकासीमा संलग्न व्यवसायीहरुका अनुसार गत मे २ मा  कोलकातास्थित भन्सार विभागले पत्राचार गर्दै अनिवार्य ल्याब टेष्ट गरेर मात्रै चिया आयात गर्न निर्देशन गरेको थियो ।

सोही कारण नेपाली चियाको निकासीमा अवरोध भएको चिया उद्यमी प्रदीप अग्रवालले बताउनुभयो । 
विगतमा एक पटक ल्याब टेष्ट भएको चियालाई ६ महिनासम्म निकासी गर्न इजाजत थियो । तर, यस पटकदेखि दैनिक ल्याब टेष्ट गर्नु पर्ने नयाँ नियम लागू भएपछि नेपाली चिया किसान र व्यवसायी समस्यामा परेका हुन् ।

व्यवसायीहरुका अनुसार चियाको ल्याब टेष्ट कोलकातामा मात्रै हुन्छ । ल्याब रिपोर्ट प्राप्त गर्न करीब दुई साता भन्दा बढी समय लाग्छ । 

नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चियाको ८० प्रतिशत भन्दा बढी भारत निकासी हुँदै आएको छ । चालु आर्थिक वर्षको ९ महिनामा पूर्वी नाका काँकडभिट्टा हुँदै करीब २ अर्ब मूल्यको चिया भारत निर्यात भएको छ ।