अन्य

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च शून्य

काठमाडौं

चालू आर्थिक वर्षको दुई महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च शून्य देखिएको छ । अर्थ मन्त्रालयको तथ्याङक अनुसार विकासे मन्त्रालयहरुले नै बजेट खर्च गर्न सकेका छैनन् ।

चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयका लागि १२ अर्ब १३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म एक रुपैयाँ पनि खर्च भएको छैन । आर्थिक वर्षको सुरुमा विकास खर्च नहुने प्रवृति यसवर्ष पनि दोहोरिएको हो ।

धेरै पुँजीगत बजेट भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि ३/३ प्रतिशत बजेट मात्र खर्च गरेका छन् । ऊर्जा मन्त्रालयमा ४० अर्ब ४५ करोड ३९ लाख  र भौतिक पूर्वाधारको लागि  ९३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यस्तै खानेपानी मन्त्रालयका लागि १७ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २ महिनामा १ अर्ब २१ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

शहरी विकास मन्त्रालयले पनि विनियोजित बजेटको १ प्रतिशत अर्थात १ अर्ब ७१ करोड रुपैयाँ विकास निर्माणमा खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

शहरी विकास मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १७ अर्ब १० करोड रकम छुट्याइएको थियो । विकास निर्माणका लागि छुट्याइएको रकम आर्थिक वर्षको अन्तिममा खर्च हुने परिपाटी बढेपछि संसदको अर्थ समितिले लक्ष्य अनुरुप पुँजीगत खर्च गर्ने खाका सहितको कार्ययोजना बनाउन अथर् मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।