गण्डकी प्रदेशको बजेट खर्च डेढ प्रतिशत मात्रै
पोखरागण्डकी प्रदेशले चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा चालू र पूँजीगत बजेटमध्ये जम्मा डेढ प्रतिशत मात्रै खर्च गरेको छ । खर्च बजेटमध्ये चालू भन्दा पूँजीगत निकै कम रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कुल बजेट मध्ये पहिलो चौमासिकका लागि चालूतर्फ २ अर्ब ४९ करोड २९ लाख ३२ हजार ४४ रुपैयाँ र पूँजीगततर्फ ८९ करोड २९ लाख ६१ हजार रुपैयाँ गरी ३ अर्ब ३८ करोड ५८ लाख ९३ हजार ४४ रुपैयाँको खर्च गर्ने अख्तियारी प्राप्त भएको थियो ।
त्यसमध्ये चालू तर्फ ३२ करोड ३२ लाख ४८ हजार ९ सय २८ र पूँजीगततर्फ २ करोड ७५ लाख ३ सय ७४ गरी जम्मा ३५ करोड ७ लाख ४९ हजार ३ सय २ रुपैयाँ मात्र खर्च भएको छ ।
पहिलो चौमासिकको हिसाब गर्दा चालूतर्फ १२ प्रतिशत र पूँजीगततर्फ ३ प्रतिशत मात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत श्यामराज जोशीले बताएनुभयो उहाका अनुसार कुल बजेटको भने डेढ प्रतिशत हाराहारी मात्रै खर्च भएको छ ।
प्रदेश सरकारले गत असार १ मा चालू आर्थिक वर्षमा लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये ४ करोड ५३ लाख १४ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमानको रकम हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव ध्रुवप्रसाद पाण्डेले प्रशासनिक बाहेक बिकास निर्माण र अन्य योजनामा खर्च हुन नसकेको बताउनुभयो । मन्त्रालयहरुले धमाधम कानून र कार्यविधि बनाएर बजेट कार्यान्वयन चरणमा रहेको उहाँको भनाई छ ।
सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले नयाँ प्रदेश सरकार, कर्मचारी र कार्यालयको व्यवस्थापन अभाव लगायत कारणले बजेट सोचे अनुसार खर्च हुन नसकेको बताउनुभयो ।
सुरुको वर्ष भएकाले अहिले थुप्रै योजनाको कार्यविधि, डीपीआर, सम्भाव्यता अध्ययन, गुरुयोजना लगायत विषयलाई बजेटले समेटेको उहाँको भनाई छ ।