आर्थिक

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला ७० हजार

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाली बजारमा छापावाल सुनको मूल्य फेरि बढेर प्रतितोला ७० हजार पुगेको छ । हिजो प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रति औस ११ अमेरिकी डलर बढेका कारण नेपाली बजारमा सुनको भाउ ७० हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार एकदिनै १५ सय रुपैयाँ बढेको थियो । आज पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धि भएको छ । 

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रति औस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो । हिजो बढेर प्रति औस १४ सय ८६ अमेरिकी डलर पुगेको थियो भने आज त्यो बढेर १४ सय ९७ डलर पुगेको छ । व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म सुन प्रति औस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको छ । यही क्रममा वृद्धि भए एक/दुई दिनमै सो मूल्य भेट्ने छ ।

खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् ।

केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् ।