फोटोफिचर

खरखुट्टेको हरियो फाँटमा निलो आलु (तस्बिरहरु)

- रमेशकुमार पौडेलचितवन

धान स्याहारेको सवा दुई महिना नहुँदै चितवनको खरखुट्टेका स्थानीयलाई उही खालको चटारो छ । खरखुट्टेमा कात्तिक नलाग्दै धान थन्क्याएर सकिन्छ । त्यसपछि धमाधम आलु रोप्छन् । किसानलाई त्यो आलु भित्र्याउने अहिले चटारो छ । चितवनको खैरहनी नगरपालिका–१० कठारको खरखुट्टे गाउँको फाँट आलुको बोटले हरियो भएको छ । 




अन्यत्रको भन्दा फरक त्यहाँका किसानले निलो रंगको आलु लगाउँछन् । फरक रंग र मिठो स्वादका कारण उत्पादन भएको आलु नबिक्ने चिन्ता छैन । ड्याङबाट निकालेको आलुको माटो पनि राम्रोसँग नटकटक्याइ बोरामा राखेर बारीमै नापजोख हुन्छ । बारीबाटै बोरा ट्रकमा राखेर ब्यपारीले आलु बजार तिर लैजान्छन । खल्तीमा पैसा राखेर किसान घर फर्कन्छन् । आलु बेचेरै गाउँमा करोडौं रुपैयाँ भित्रन्छ ।



 पूर्व–पश्चिम राजमार्गबाट झण्डै पाँच किलो मिटर दक्षिणमा रहेको खरखुट्टेमा २०५६ सालदेखि आलु खेती सुरु भएको हो । स्थानीय कृषक कृष्ण अर्यालले आलु खेती सुरु गरेका थिए । त्यो बेला गाउँभरीमा १० बिघा जतिमा आलु लगाइएको थियो । अर्यालले आठ कट्ठामा आलु रोपेका थिए । एक बिघा दुई बिघा हुँदै अर्यालले भाइहरुसँग मिलेर अहिले ‘अर्याल बहुउद्देश्यीय कृषि फर्म’ सञ्चालन गरेका छन् । उनको फर्मबाट अहिले सात हेक्टर अर्थात साढे १० बिघामा आलु खेती भएको उनले बताए । 




खरखुट्टेमा अहिले चानचुन दुई सय बिघामा आलु खेती हुन थालेको छ । अन्यत्र आसपासमा पनि खेती बढेको छ । सबै तिर गरेर २५० बिघामा आलु खेती हुने गरेको अर्यालले जानकारी दिए । आलु बेचेर अघिल्लो वर्ष गाउँमा झण्डै १५ करोड रुपैयाँको हाराहारीमा नगद आर्जन भएको अर्यालले बताए । गाउँमा ‘ब्लू डायमन्ड’ र ‘एमएस’ गरेर दुईथरी निलो आलुको खेती हुन्छ । रातो आलुको खेती पनि नहुने हैन । 



झण्डै ७० प्रतिशत निलो र बाँकी रातो आलु लगाउने गरेको अर्यालले बताए । बेलायतबाट ल्याएको ‘ब्लू डायमन्ड’ धेरै फल्छ, ठूलो फल्छ । वजन पनि हुन्छ । रोग कीराले पनि धेरै सताउँदैन । त्यसैले निलो आलु रोप्ने चलन बढेको हो । यहाँको आलु मुख्य गरेर पोखरा र बाँकी काठमाडौं र पूर्वी नेपालतर्फ पनि जान्छ ।