फोटोफिचर

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरु]

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालीहरुको महान् चाड बडादशैँ अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार अपराह्न ’फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको हो । 




समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । समारोहको सुरुमा नेपाली सेनाको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । त्यस अवसरमा बढाइँ टोलीले राइफलबाट लहरे, एकट्ठा र नेपालको नक्साको आकृति बनाई बढाइँ गर्नुका साथै तोपबाट समेत बढाइँ गरिएको थियो । 





सो कार्यक्रममा नेपाली सेनाका विभिन्न युनिटबाट मार्च पास प्रदर्शन सहित गोरखाबाट ल्याइएको फूलपाती हर्षबढाइँ सहित प्रदर्शन गरिएको थियो । समारोहमा दुर्गा नाचका साथै नेपाली सेनाको ब्याण्डबाट मालश्री तथा दुर्गा भजनहरूको समिश्रण सहितको धुन प्रस्तुत गरिएको थियो । 





फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।






समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगण लगायत विशिष्ट व्यक्तित्व सहभागी थिए ।