बीपी राजमार्गमा जाम र धुलोको सास्ती (फोटोफिचर)
- नेपाथोक, सिन्धुलीरोशी खोलामा आएको बाढी र पहिरोले सडक बगाएर क्षतविक्षत भएको बीपी राजमार्गको नेपालथोक– भकुण्डेवेशी खण्डमा जाम अझै घटेको छैन । गत असोज ११ र १२ गतेको बाढीले सडक बगाएपछि कतै खोला र कतै भित्ता साइडमा ट्रयाक खोलेर यातायात सञ्चालनमा आएपनि जाम भने थामि नसक्नु छ ।
वर्षा रोकिएपछि रोशी खोला घटेको छ तर ट्रयाक सडक साँघुरो भएकाले जामको सास्तीले यात्री त हैरान छँदैछन्, सवारी चालक पनि समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।
चौकीडाँडाबाट ट्रयाक सडकमा झरेपछि नेपाथोकसम्म नै कतै एकतर्फी त कतै बगर नै बगर यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । डाइभर्सन सडक फराकिलो नहुँदा घण्टौँ जाम पर्ने गरेको छ ।
बिरामी बोकेका एम्बुलेन्स समेत जामको मारमा पर्ने गरेका छन् । चौकीडाँडाबाट नेपालथोक सम्मको २१ किलोमिटर सडक पार गर्न धेरै असहज भएकाले ट्रयाक सडक फराकिलो बनाउन यात्रुहरु र चालकले माग गरेका छन् ।