सौराहामा फुड फेस्टिभलको शोभायात्रा (तस्बिरहरु)
- चितवनप्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर मंगलबारदेखि चितवनको पर्यटकीय क्षेत्र सौराहामा १९ औं फुड फेस्टिभल (खाना महोत्सव) सुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहाले आयोजना गरेको फेस्टिभलको बागमती प्रदेशका पर्यटन मन्त्री बिमल ठकुरीले उद्घाटन गर्नुभयो । फेस्टिभल फागुन ३ गतेसम्म चल्ने छ ।
फेस्टिभलमा स्थानीय, स्वदेशी र विदेशी परिकारहरु समावेश गरेको रेबान सौराहाका अध्यक्ष ध्रुब गिरीले बताउनुभयो । स्थानीय परिकारहरुमा आदिवासी थारु समुदाय र नेवार समुदायका परिकारहरु रहेका छन् ।
फेस्टिभलमा खानाका साथै संगीत र सांस्कृतिक प्रस्तुति हुने कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले बताउनुभयो । उद्घाटनअघि सौराहा राप्ती किनारबाट कार्यक्रम स्थलसम्म शोभा यात्रा पनि निस्केको थियो ।
सिंगारिएका हात्तीलाई अगाडि लगाएर सुरु भएको शोभा यात्रामा आदिवासी थारु समुदायका साथै अन्य जातजातिका साँस्कृतिक झाँकीहरु पनि समेटिएको थियो । फेस्टिभल ख्याति प्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक खेलकुद गतिविधि पनि हुने आयोजकले बताएका छन् ।