समाज

लापरबाही नगर्ने प्रतिबद्धता सहित टिपर चालकले खाए शपथ

- नगेन्द्र अधिकारीकाभ्रे

सवारी चलाउँदा लापरबाही नगर्ने प्रतिबद्धता सहित टिपर चालकहरुले काभ्रेमा शपथ खाएका छन् । दुर्घटना कम गर्न बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले लिखित प्रतिबद्धता सहित टिपर चालकलाई शपथ खुवाएका हुन् । 

चालकले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल तामाङ समक्ष विभिन्न १० बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संघका अध्यक्ष प्रेम तामाङले थप जिम्मेवार बनाउन यस्तो प्रतिबद्धता सहित शपथ खुवाएको बताउनुभयो ।

सपथमा उनीहरुले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तीब्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, संगीतका लागि उफर, झल्लर र स्टिकर नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, पैदल यात्रुलाई प्राथमिकता दिने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने लगायत प्रतिबद्धता जनाएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले टिप अनुसार भत्ता पाउने नियमका कारण तीब्र गतिमा चलाउँदा टिपर बढी दुर्घटनामा पर्ने गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले टिपरबारे सर्वसाधरणको धारणा राम्रो बन्न नसकेको भन्दै जिम्मेवार भएर चलाउन चालकलाई अनुरोध गर्नुभयो ।

सो क्रममा व्यवसायीहरुले भने अन्य सवारी साधनको गल्ती हुँदा पनि दोष टिपरले नै पाउने गरेको भन्दै गुनासो गरेका थिए ।

काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्छन् । जिल्लामा हुने सवारी दुर्घटनामा ५० प्रतिशत टिपर संलग्न हुने गरेको तथ्याङ्क छ । 

गत आर्थिक वर्ष २०७५/७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार, गत आर्थिक वर्ष ३७ जनाले ज्यान गुमाएकोमा टिपरकै कारण ११ जनाको मृत्यु भएको थियो ।