समाज

अभद्र ब्यवहार भएको भन्दै आस्था विरुद्ध प्रहरीको उजुरी

- रेडियो कान्तिपुर संवाददाता

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक टर्मिनलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि गायिका आस्था राउतबाट अभद्र व्यवहार भएको भन्दै कारबाहीको माग गर्नुभएको छ । 

गायिका आस्था राउतको सुरक्षा जाँच गरेकी श्रेष्ठले आफू ड्यूटीमा रहँदा गाली गलौच र अभद्र ब्यवहार भएको भन्दै कारबाहीका लागि आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजूरी दिनुभएको हो ।

यसैबीच, उजूरीबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले काठमाडौं प्रहरीलाई निर्देशन दिईसकेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले राउतविरुद्ध अनुसन्धान सुरु भईसकेको जनाएको छ । अभद्र व्यवहार कसुरको मुद्दा जिल्ला प्रशासन कार्यालयले छिनोफानो गर्छ । 

काठमाडौं प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ । 

कसुर प्रमाणित भए आरोपी विरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।