पुर्पक्षमा राख्नु भनेका आरोपित मल्ल उपचारका नाममा अस्पतालमा
- काठमाडौंसवारी ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राख्नु भनेका आरोपित पृथ्वी मल्ल ४० दिनदेखि उपचारका नाममा अस्पतालमा बसिरहेको खुलेको छ ।
गत मंसिर २८ गते बुढानीलकण्ठस्थित सडकमा बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट पैदलयात्रु ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।
सोही मुद्दामा अदालतले गत पुस २३ गते मल्ललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार लगियो । तर, कारागार छिर्ने बित्तिकै मल्लले बेहोस भएको नाटक गरेपछि तत्काल वीर अस्पताल लगियो ।
वीरले चिरायु अस्पताल रेफर गर्यो र उनी गत पुस २३ गतेदेखि सोही अस्पतालमा छन् । मल्ललाई डिस्चार्ज गरिदिन भन्दै चिरायु अस्पताललाई दुई पटक पत्राचार गरिएको भएपनि कुनै जवाफ नआएको कारागारका जेलर अरुण पोखरेलले बताउनुभयो ।