समाज

पेस्तोल सहित चितवनबाट एक पक्राउ

- रमेशकुमार पौडेलचितवन

पेस्तोल सहित चितवनको भरतपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानका २० वर्षीय सुजन सुनार रहेका छन् । 

जेठ २६ गते सोमबार दिउँसो चार बजे भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट अवैध हतियार पेस्तोल सहित सुनारलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । 

घरमा हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश शाहको टोलीले खानतलासी गरेको थियो ।

खानतलासी गर्दा उनको कोठाबाट ९ एमएम लेखेको एउटा पेस्तोल, फायर भएको जस्तो देखिने १० वटा गोली र पिँधमा चोट लागेको फायर भए जस्तो देखिने दुई थान खोका बरामद भएको डीएसपी एकनारायण कोइरालाले बताउनुभयो । 

उनलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कारबाही गर्न अनुशन्धान सुरु भएको कोइरालाले बताउनुभयो ।