समाज

विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य

- बिप्लब महर्जनसल्यान

सल्यानको शारदा नगरपालिका १० पैयाखर्कस्थित जनता प्राविका बालबालिकाहरु खुला चौरमा बसेर पढन बाध्य भएका छन् । एक बर्ष अघि हुरिले छाना उडाएपनि अहिलेसम्म मर्मत हुन नसक्दा बालबालिका खुला चौरमा बसेर पढन बाध्य भएका हुन् । गत वर्ष चैत ११ गते हुरिले विद्यालय भवनको छाना उडाएपछि नगरपालिकामा बारम्बार मर्मतका लागि आग्रह गर्दा पनि बेवास्ता गरेकाले बालबालिकालाई खुला चौरमा बसाएर पढाउनु परेको प्रधानाध्यापक डम्मरबहादुर चलाउनेले बताउनुभयो ।

 कक्षाकोठा चिसो र पर्खाल चर्किएकाले ढुंगा खसेर चोटपटक लाग्ने खतरा भएपछि बालबालिकालाई घाममा राखेर पढाउने गरेको उहाँको भनाई छ । समयमै भवन मर्मत नहुँदा बिद्यालय संचालनमा कठिनाई भएको ब्यवस्थापन समितीका अध्यक्ष वीरबहादुर बिकले बताउनुभयो । शारदा नगरपालिकाले यो बर्षमै भवन मर्मत गरेर बालबालिकालाई कक्षाकोठामा राखेर पढाउने व्यवस्था मिलाउने नगरप्रमुख सुरेश अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।