समाज

बोक्सी आरोपमा महिलालाई यातना दिने युवक पक्राउ

- भरत जर्घामगरसिरहा

बोक्सी आरोपमा कुटपिट गरी जबरजस्ती मलमूत्र खुवाएको आरोपमा प्रहरीले आइतनबार एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–५ का २९ वर्षीय घुरन साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार औरही गाउँपालिका–५ का ५० वर्षीया हिरादेवी साहले आफूलाई शनिबार बिहान बोक्सीको आरोपमा जेठाजुका छोरा घुरन, बुहारी लगायतले कुटपिट गरी जबरजस्ती मलमूत्र खुवाएको जाहेरी दिएपछि घुरनलाई पक्राउ गरेको हो । 

गाईलाई टुनामुना गरेर मारेको भन्दै आफूमाथि भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरुले जबरजस्ती मानव मलमूत्र खुवाएका थिए । सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले पीडित हिरादेवी साहको जाहेरीको आधारमा पक्राउ परेका घुरनलाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो । 

‘घटनामा अन्यको पनि संलग्नता देखिएको छ,’ एसपी राजभण्डारीले भन्नुभयो, ‘अन्यको खोजी भईरहेको छ ।’ यता, पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको जानकारी दिइन् । 

हिरादेवीका पति रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरी सहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गर्दै आइतबार प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।