समाज

जीवित कछुवा सहित फर्पिङबाट ३ जना पक्राउ

- केएफएम डेस्ककाठमाडौं

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले संरक्षित वन्यजन्तु जीवित कछुवा सहित ३ जनालाई काठमाडौंको फर्पिङबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राई रहेका छन् । 

कछुवाको अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा खटिएको सीआईबीको टोलीले दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट एउटा जीवित कछुवा सहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाईएको सीआईबीले जनाएको छ ।