समाज

विदेशमा ज्यान गुमाउने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर

- इन्द्रा लक्ष्मी घिमिरेकाठमाडौं

वैदेशिक रोजगारीका लागि मलेसिया गएका बेला विभिन्न कारणले मृत्यु भएकामध्ये दुई अस्तुसहित थप १७ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । अघिल्लो साता २७ जनाको शव मलेसियाबाटै ल्याइएको थियो । सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका बेला मृत्यु हुने नेपालीको संख्या पछिल्लो एक वर्षको अवधिमा झण्डै दोब्बर वृद्धि भएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ६ सय ७४ जनाले ज्यान गुमाएका थिए । विदेश भूमिमा वर्षेनी मृत्यु हुनेको संख्या बढिरहेपनि नेपाल सरकारले कामदारको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

सरकारी तथ्याङ्क भन्छ, विदेशमा मृत्यु भएका १ सय भन्दा बढीको शव अझै ल्याउन बाँकी छ । पछिल्लो १३ वर्षभित्र ९ हजार ४ सय २४ जना नेपालीको रोजगारी सिलसिलामा मृत्यु भएको आंकडाले मानवीय क्षतिको विकराल समस्यालाई प्रमाणित गर्दछ । स्वास्थ्य परिक्षणमा निरोगी प्रमाणित नभएसम्म नेपालबाट विदेश जान बाटो खुल्दैन । त्यति मात्र नभई विदेशमा पनि कम्पनीले स्वास्थ्य परिक्षणलाई पहिलो प्राथमिकतामा राखेको हुन्छ तर विदेशी भूमिमा कामदारले किन अकालमै ज्यान गुमाउँछन् त ? वैदेशिक रोजगार बोर्डको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा विदेशमा ज्यान गुमाएका मध्ये ४ सय ७४ जनाको मृत्युको कारण नै खुलेको देखिँदैन । सडक दुर्घटनामा कारण १ सय ७१ जानको ज्यान गएको छ भने प्राकृतिक रुपमा मृत्यु भएका १ सय २९ जनाको ज्यान गएको छ । यस्तै विभिन्न रोगबाट ज्यान गुमाउनेको संख्या ३ सय २७ छ । हृदयाघातबाट ७०, कार्यस्थलमा ज्यान गुमाउने १९, र हत्या भएका २ जनाको तथ्याङ्क बोर्डको छ । पारिवारिक एवं कोभिडका माझ उत्पन्न परिस्थिति लगायतका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७७ /७८ मा आत्महत्याका ५२ घटना थिए । प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा हुने गरेको छ । पछिल्लो एक दशकमा मात्रै त्यहाँ ३ हजार जनाको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय संस्था मोइसको दुई वर्षअघि प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार श्रम गन्तव्य मुलुकमा प्रतिकूल वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेकाले कामदारको मृत्यु भइरहेको पाइएको थियो । सन् २०१३ मा बेलायती पत्रिका गार्जियनले श्रम बजारमा मृत्यु भइरहेका अधिकांश नेपाली कामदारको मृत्यु अस्वभाविक रहेको तथ्य बाहिर ल्याएको थियो । श्रम आप्रवासन क्षेत्रका विज्ञ एवं इक्वीडेम नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालको भनाइमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका प्राय:जसो श्रमिकको मृत्युको कारण खुल्दैन ।

विदेशबाट आउने शव बिना पोष्टमार्टम नेपाल ल्याइन्छन् र नेपालमा पनि पोष्टमार्टमको व्यवस्था छैन । यसर्थ पनि मृत्युको कारण पत्ता लगाउन कठिन भएको हो । सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीका क्रममा श्रम गन्तव्य मुलुकमा हुने मृत्युको कारण खोज्न आदेश दिएपछि सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तर सो कार्यदल निष्कर्षविहिन बन्यो । खाडी मुलुकमा मृत्युको वास्तविक कारण खोज्न सरकारले खासै चासो नदिएको गुनासो सरोकारवालाको छ । राज्यको पहल कमजोर हुने र आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले वास्तविक अवस्थालाई सम्बोधन गर्न नसक्ने विज्ञ नेपालको तर्क छ ।

सरकारले विदेश जानुपूर्व कामदारहरुलाई सुरक्षा लगायत विषयमा प्रशिक्षण दिने व्यवस्था अनिवार्य त गरेको छ । तर सो पर्याप्त र प्रभावकारी देखिदैन । त्यति मात्र होइन सरकारले कामदारका लागि कल्याणकारी कोष खडा गरेपनि राज्यको तर्फबाट रकम थप्ने व्यवस्था छैन । श्रमिक नेपालीप्रति पूर्ण रुपमा राज्य उदासिन रहँदा हजारौं नेपालीले मृत्युवरण गर्नुपरेको तर्क गर्छन् श्रम विज्ञ गणेश गुरुङ ।

यता, सरकारले भने आफूहरु यो समस्या समाधानका लागि चूप लागेर नबसेको दाबी गर्दै आएको छ । वैदेशिक रोजगारीमा हुने मृत्युको वास्तविक तथ्य पत्ता लगाउन अध्ययन सुरु भइरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

कतिपय देशमा लुकीछिपी अवैध रुपमा बस्ने तथा श्रम स्वीकृति सकिएपछि उतै बसोबास गर्दै आएका नेपालीको मृत्युबारे यकिन तथ्याङ्क जुटाउन कठिन भइरहेको छ । मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको रेमिन्ट्यास भित्र्याउने नेपाली कामदारको असामयिक मृत्यु हुने घटनामा आएको बढोत्तरीले राज्यको पहललाई कमजोर सावित गरेको छ । त्यति मात्र नभई विदेशी भूमिमा हुने मानवीय क्षतिले उनीहरुको परिवारमा पर्ने आर्थिक बोझ अनि मानसिक विचलनतर्फ पनि राज्यको नजर पुग्न सकेको देखिँदैन ।