समाज

हत्या र बम प्रहारमा संलग्न रहेका पटेल ७ वर्षपछि पक्राउ

- भूषण यादववीरगञ्ज

पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा करीब २० वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादी ७ वर्षपछि पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२१ पटेल नगर निवासी ४० वर्षीय रविन्द्र पटेललाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जको गण्डकबाट पक्राउ गरेको हो । 

पर्साको महुवन निवासी ४५ वर्षीय कुचन साहलाई २०६४ भदौ ९ मा गोली हानी हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले २०७१ असार १७ मा पटेललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिन कैद सजाय तोकेको थियो । त्यसबेलादेखि पटेल फरार रहेका थिए । 

पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार विशेष सूचनाको आधारमा फरार कसूरदार पक्राउ टोलीले बिहीबार बिहान करीब १० बजेको समयमा पटेललाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अदालतबाट कैद सजाय तोकिएका पटेल जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीमाथि गोली प्रहार र एक उद्योगका अधिकृतमाथि बम प्रहार लगायत अपराधिक गतिविधिमा समेत संलग्न रहेका थिए । 

पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार २०६५ असोज ३ मा जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको गोली हानी हत्या गरिएको थियो । 

कर्मचारीमाथि गोली हानी हत्या प्रकरणमा पनि पटेलको संलग्नता रहेको खनालले जनाए । यसैगरी २०६६ जेठ १३ मा प्रो.वायोटेक प्रालिका प्रशासकीय अधिकृत सोचन प्रसाद यादवमाथि गरिएको बम प्रहार प्रकरणमा पनि पटेलको संलन्ता देखिएको थियो ।