समाज

बाघले आक्रमण गरेको मंगली बोटेको अवस्था अज्ञात

- रमेशकुमार पौडेल

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणमा परेकी स्थानीय ६० वर्षिया मंगली बोटेको अवस्था अज्ञात रहेको छ । भरतपुर महानगरपालिमा–२३ घैलाघारीकी मंगली साथीहरू सहित निउरोको साग टिप्न सामुदायिक वनमा गएकी थिइन् । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार आज अपरान्ह मंगलीलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको उनीसंगै गएकाले बताएका छन् । कसराबाट चारवटा हात्तीसिहत सेनाको टोली र गीतानगरको इलाका प्रहरी कार्यालयको टोली खोजतलासमा जुटे पनि पत्ता नलागेको डिएसपी अधिकारीले बताउनुभयो । चितवनमा यो वर्ष बाघले मान्छेमाथि आक्रमण गरेर ज्यानै लिने घटना अत्याधिक बढेको निकुञ्ज कार्यालयले जनाएको छ ।