मुक्तिनाथ अधिकारीको सम्झनामा मनाइयो २३ औं स्मृति दिवस
-मुक्तिनाथ अधिकारीको सम्झनामा २३ औं स्मृति दिवस मनाइएको छ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयमा विहिबार तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका मुक्तिनाथ अधिकारीको २३ औं स्मृति दिवसको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।
मुक्तिनाथ स्मृती प्रतिस्ठानले पाणिनी संस्कृत माध्यमिक विद्यालयमा अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले दुराडाँडाका एउटा नक्षत्र अन्त्य गरिएको दिनको रुपमा स्मरण गर्दै समाजलाई त्रशित बनाउने उद्देश्यका साथ सो कार्य भएको उल्लेख गर्नुभयो ।
उहाँले अधिकारीको घटना एउटा प्रतिनिधिमूलक घटना भएको भन्दै देशभर भएका यस्ता घटनामा संलग्न दोषीलाई कारबाही र पीडितलाई न्याय दिन बनेका आयोगहरुले काम गर्न नसकेको बताउनुभयो । मानवअधिकारकर्मी चरण प्रसाईले वास्तविक पीडितहरुको छानविन गर्न सरकार असक्षम भएको बताउनुभयो । उहाँले स्थानीय तहमा हुने न्यायिक समिति मार्फत नै त्यस्ता घटनाको पहिचान गरी सरकारलाई घच्घच्याउने काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई २०५८ साल माघ ३ गते कक्षाकोठामा पढाइरहेको अवस्थामा लगेर निर्ममतापूर्वक हत्या गरिएको थियो । कार्यक्रममा परिवारको तर्फबाट छोरा सुमन अधिकारी, मुक्तिनाथ अधिकारीका ससहकर्मी विश्वनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए ।