ब्राउन सुगरसहित बाँकेबाट युवा पक्राउ
- नेपालगञ्जबाँकेबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–५ का २२ वर्षीय प्रवेश सुनारलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।
सीमावर्ती भारतीय शहरबाट बिक्री गर्न ब्राउनसुगर ल्याइरहेको अवस्थामा प्रहरीले सुनारलाई ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सुनारले आफूले लगाएको जिन्स पाइन्टको बाँया खल्तीमा ब्राउनसुगर राखेका थिए । शंका लागेर जाँच गर्दा सुनारको साथबाट ब्राउनसुगर फेला परेको थियो । सीमा नाका हुँदै भारतबाट ल्याइने लागूऔषध नेपालगञ्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गर्दछ ।