आईल्यावको तेस्रो संस्करण सुरु
- काठमाडौंनेपालको प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरु पहिचान गरि कार्यान्वयनमा ल्याउन सहज पुर्याउने उद्धेश्यका साथ “शिक्षा प्रणाली प्रयोगशाला”– आईल्यावको तेस्रो संस्करण सुरु भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन(कुसोड) र इटिएच ज्युरिकको सहकार्य तथा स्वीस विकास सहयोग नियोग (एसडीसी)को प्राविधिक सहयोगमा नेपालमा आइल्याव सन् २०२३ देखि सुरु भएको हो ।
आईल्याव अन्तर्गत टिभेट क्षेत्रसंग सम्बन्धित उद्योगी, शिक्षालय, पालिका लगायतका सरोकारवाला सहितको प्रदेशगत रुपमा ६ देखि ८ जनासम्म सदस्य भएको एउटा समुहले प्रतिस्पर्धा गर्दछन् । तिमध्ये उत्कृष्ट ६ देखि ८ वटा समुह छनौटमा पर्दछन् । छनौटमा परेका समुहले आ–आफ्नो कार्यक्षेत्रमा ६ महिना भित्रमा कार्यान्वयनमा ल्याउन सकिने योजना आइल्यावमा प्रस्तुत गर्दछन् । आइल्याव अन्तर्गत ति योजनाहरुमा छलफल गरिन्छ र कार्यान्वयनमा लगिन्छ ।
ललितपुरको गोदावरीमा आज आयोजित आईल्यावको उद्घाटन समारोहमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले विद्यार्थीलाई देशको माया जगाउन सक्ने शिक्षा प्रणालीको विकास गनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । श्रम गर्नेहरुमा सम्मान भाव ल्याउन सकेमा मात्र मुलुक समृद्धितर्फ लाग्ने उहांको भनाई थियो ।
त्यस्तै, कुसोडका डीन प्रा.डा. बालचन्द्र लुईंटेलले व्यावहारिक शिक्षाका सम्बन्धमा विकसित मुलुकले दशकौं अघि अपनाएको शिक्षा प्रणाली नेपालमा अझै लागु हुन नसकेको धारणा राख्नुभयो । पढ्दै कमाउंदै भन्ने नारालाई सार्थकता दिनुपर्ने उहांको भनाई थियो ।
आइल्यावका प्रमुख अनुसन्धानकर्ता प्रा.डा. महेशनाथ पराजुलीले छलफल मात्र नभई काम गरेर देखाउने मञ्चका रुपमा आइल्यावलाई विकास गरिएको बताउनुभयो । यसका लािग टिभेटका प्रमुख सरोकारवालाहरु रोजगारदाता, सरकार र शिक्षणसंस्थालाई जोड्ने प्रयास भइरहेको उहांको भनाई थियो ।
कार्यक्रममा एसडीसीका वरिष्ठ राष्ट्रिय कार्यक्रम अधिकृत पंकज पराजुलीले स्थानीय स्तरमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम लाई थप प्रभावकारी बनाउन यसका उत्पादनको सक्रियता बढीरहेको बताउनुभयो । त्यसका लागि सरकारले समेत आइल्यावलाई प्राथमिकतामा राखेको उहांको भनाई थियो ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव बैकुण्ठ अर्यालले स्वदेशी श्रमशक्ति सीप नभएका कारण खाडी मुलुकमा भौतारिन बाध्य हुने तर विदेशी जनशक्ति नेपालमा आएर रोजगार पाउने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसका लागि आइल्यावले नीति र अभ्यास कार्यान्वयनबीचको खाडल पत्ता लगाउन महत्वपूर्ण भुमिका खेल्दै आएको उहांले बताउनुयो । त्यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)का निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाको प्रभावकारीता बढाउनपाठ्यक्रम प्रारुप तयार गरिएको बताउनुभयो । त्यस्तै, औद्योगिक प्रशिक्षार्थीको अवधारणलाई महत्वका साथ अघि बढाइएको निर्देशक आचार्यको भनाई छ । कार्यक्रममा सहभागी मध्ये गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले सीययुक्त जनशक्ति उत्पादनका गरि उनीहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । नगरपालिकाले नीति तथा कार्यक्रममै मिसन रोजगारी समावेश गरेको उहांको भनाई थियो । त्यस्तै, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक विन्दा आचार्य, अब्बल र सफल शिक्षाका नाममा व्यावहारिक शिक्षालाई कम प्राथमिकता दिइएको धारणा राख्नुयभो । त्यसै कारण उत्पादन र उत्पादकत्वको विकास प्रभावकरी रुपमा गर्न नसकेको उहांको भनाई छ । आगामी दिनमा व्यावहारिक, असल र जिवनोपयोगी शिक्षा प्रणालीको विकास गर्नका लागि तीन वटै तहका सरकारको सहकार्य अपरिहार्य भएको उहांको भनाई छ ।