समाज

आपतकालीन अवस्थामा कृषि बालीको संरक्षणमा विज्ञहरुको जोड

काठमाडौं

काठमाडौँ। आपतकालीन अवस्था कृषि बालीमा निर्भर किसानहरूको जीविकोपार्जन जोगाउन र पुनःस्थापनाका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुनेमा वक्ताहरुले जोड दिएका छन् । 


 संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा वक्ताहरुले बालीसम्बन्धी आपतकालीन प्रतिक्रिया सुदृढ गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूको प्रयोगलाई क्षेत्रीय रूपमा मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।छलफलमा राष्ट्रिय नीति, संस्थागत अभ्यास र आपतकालीन कृषि प्रतिक्रियामा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव जगन्नाथ तिवारी नेपालमा कृषि संकट व्यवस्थापन क्षमता सुदृढ गर्ने बताए । दिगो र उत्थानशील कृषि–खाद्य प्रणाली निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै तिवारीले नेपाल सरकारले एफएओ र अन्य साझेदारसँग मिलेर आपतकालीन अवस्था कृषि बालीको संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ सहायक प्रतिनिधि अरुण जीसीले जलवायु परिवर्तन, वातावरणीय क्षय र सामाजिक, आर्थिक जोखिमका कारण बालीमा आधारित जीविकोपार्जनमा बढ्दो चुनौतीहरू देखिएको बताए ।

 एफएओका कृषि अधिकृत शोन म्याकग्वायरले साझा मापदण्डहरूको प्रयोगले कृषि आपतकालीन अवस्थामा विभिन्न संस्थाबीच समन्वय र प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका रहने बताए । एफएओले सञ्चालन गरेको ५ दिने तालिममा एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक सञ्चालन भएको कृषि आपतकालीन अवस्था तालिममा नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, मान्मार र पाकिस्तानबाट प्रतिनिधिहरु सहभागि थिए ।