वातावरण दिवसमा “एक बालबालिका, एक बिरुवा“ नामक राष्ट्रिय अभियान
काठमाडौंविश्व वातावरण दिवसका अवसरमा अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेसनल नेपालले भोलि देशभर “एक बालबालिका, एक बिरुवा” नामक राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत देशभरका झन्डै ८० हजार बालबालिकालाई परिचालन गरिने सो संस्थाले जनाएको छ । संस्थाद्धारा जारी विज्ञप्तिमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको चुनौतीका विरुद्ध आफ्नो भविष्य सुरक्षित गर्न बालबालिकाले व्यक्तिगत र सामूहिक पहलस्वरूप आ–आफ्नो घर र समुदायमा वृक्षारोपण गर्नेछन् ।
वर्ल्ड भिजनले बालबालिकालाई जलवायु परिवर्तनले ल्याएका समस्या समाधानमा सक्रिय सहभागी गराउन सो पहल शुरु गरेको हो । अभियान अन्तर्गत बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहहरूसँगको समन्वयमा हिमाल, पहाड र तराईका क्षेत्रका विभिन्न जिल्लामा वृक्षारोपण गर्नेछन् ।
संस्थाका अनुसार स्थानीय पारिस्थितिकीय प्रणाली सुहाउँदो बिरुवाहरू छनोट गर्न स्थानीय सरकार र जिल्ला वन कार्यालयसँग समन्वय गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्राविधिक कार्यक्रम (उत्थानशीलता तथा जीविकोपार्जन) सह–निर्देशक प्रकाश तिवारीले बालबालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया र दायित्वबोध गराउँदै उनीहरूलाई वातावरणीय संरक्षक बनाउने लक्ष्यमा यो अभियान केन्द्रित रहेको बताए ।
वर्ल्ड भिजनका अनुसार अभियानमा १ सय भन्दा बढी विद्यालय र सामुदायिक समूहहरूलाई अभियानमा सहभागी गराउँदै बालबालिकाको नेतृत्वमा वातावरणीय संरक्षण र दीर्घकालीन अपनत्व प्रवद्र्धन गर्ने लक्ष्य समेत राखिएको छ ।