खेलकुद

नागपुरे ठिटो रोहितको दोहोरो शतक यात्रा

- तेजेन्द्र काफ्लेतेजेन्द्र काफ्लेकाठमाडौं

 -  रोहित शर्मा, भरपर्दा भारतीय ओपनर । अन्तर्राष्ट्रिय टेष्टमा डेब्यु गरेको धेरै नभएपनि वन डे को एक दशक लामो यात्रामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमानधारी मात्र हैनन् तीन पटक दोहोरो सतक हान्ने उनी एक्ला खेलाडी हुन् ।

सन् २०१३ को नोभेम्बरमा वेष्टइण्डिज विरुद्धको २ म्याचको टेष्ट सिरिजको आफ्नो डेब्यु इनिङ्समै १ सय ७७ रनको पारी खेलेका रोहित, प्लेयर अफ द म्याच मात्र भएनन् राष्ट्रिय टेष्ट टोलीको भरपर्दो ब्याट्स म्यानका रुपमा समेत आफुलाई स्थापित गराए ।

रोहितको उल्लेख्य पारीमा इण्डियाले एक इनिङ्स र ५१ रनले जित दर्ज गर्‍यो । सोही म्याचबाट अन्तर्राष्ट्रिय टेष्टमा डेब्यु गरेका मोहमद सामीले समेत उत्कृष्ट बलिङ गर्दै ९ विकेट चट्काएका थिए तर रोहितको ब्याटिङको अघि सामीको बलिङ छाँयामा पर्‍यो । 

जब रोहित २०१३ को नोभेम्बर ६ मा कोलकात्तामा सेतो जर्सीमा मैदान उत्रदै थिए त्यसको ठीक चार दिन अघि मात्र वन डे जर्सीमा उनले अष्ट्रेलियाविरुद्ध २ सय ९ रनको पारी खेलेका थिए । सचिन तेन्दुल्करले सन् २०१० मा बनाएको दोहोरो सतकको कीर्तिमान ब्रेक गर्दै रोहितले २ सय ९ रन बनाएपनि सो समय एकै इनिङ्समा सर्वाधिक रन बनाउने रेकर्ड भने अर्का भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवागको नाममा दर्ज थियो ।

२०११ डिसेम्बर ८ मा सहवागले वेष्टइण्डिजविरुद्ध बनाएको २ सय १९ रनको कीर्तिमान भङ्ग गर्न रोहितलाई श्रीलंकाविरुद्धको सिरिज नै कुर्न पर्‍यो । वन डे क्रिकेटमा ऊ बेला झण्डै एकछत्र राज गर्दै आएको अष्ट्रेलियालाई दोहोरो सतकबाट धज्जी उडाएका रोहितले त्यसको ठीक एक वर्षपछि २०१४ नोभेम्बर १३ मा श्रीलंकाविरुद्ध एकै इनिङ्समा सर्वाधिक रनको कीर्तिमान बनाए । 

कीर्तिमानी इनिङ्स
श्रीलंकाविरुद्धको ५ म्याचको सिरिजको चौंथो खेल, दर्शकले भरीभराउ कोलकात्ताको त्यो मैदान, डे–नाईट म्याच । अजन्क्या रहाणेसँगै सलामी ब्याट्सम्यान बनेर क्रिजमा उत्रिएका रोहित २ सय २५ मिनेट क्रिजमा टिके । इनिङ्सकै अन्तिम बलमा नुवान कुलासेकाराको बलिङमा माहेला जयबद्र्धनेबाट क्याच आउन हुनु अघि रोहितले विश्व कीर्तिमान रचिसकेका थिए ।

१ सय ७३ बलको सामना गरेका उनले ३३ चौका र ९ छक्काको मद्दतमा २ सय ६४ रनको शानदार पारी खेले । उनको गर्विलो ब्याटिङ्मा श्रीलंकालाई ४ सय ५ रनको उच्च लक्ष्य दिएको इण्डिया १ सय ५३ रनले विजयी भयो, जसमा प्लेयर अफ द म्याचको पगरी रोहितकै शिरमा सुहायो । ५ म्याचको सिरिजमा बिराट कोहलीको इण्डिया ४–० ले अघि बढ्यो । 

सिरिज जिताउँदै दोहोरो सतक
२०१३ को नोभेम्बर २, डे–नाईट म्याच, बलियो प्रतिपक्षी अष्ट्रेलिया तर गृहमैदान चिन्नस्वामी स्टेडियम, बैंगलुरु अनि ४० हजार बढी दर्शक । ७ म्याचको सिरिजको अन्तिम तथा निर्णायक वन डे । ओपनर ब्याट्सम्यान रोहित ब्याट घुमाउँदै क्रिज उन्मुख हुँदा मनमा अनेक तरङगना खेले होलान् तर जिम्मेवारी प्रष्ट थियो २–२ को अवस्थामा रहेको सिरिज घरमै राख्ने । शिखर धवनसँग क्रिजमा ओहोर दोहोर गर्दै गर्दा नागपुरे ठिटो रोहितको ब्याटले जादु देखाउन थालिसकेको थियो ।

बिराट कोहली शून्य रनमा आउट भएपनि रोहितको हौसला बढाउँदै सुरेश रैना र युवराज सिंह पनि चाँडै पवेलियन फर्किएका थिए । तर क्याप्टेन महेन्द्र सिंह धोनीसँगको दरिलो साथमा उनले १ सय ५८ बलको सामना गर्दा २ सय ९ रनको कीर्तिमानी पारी खेलिसकेका थिए । १६ छक्का र १२ चौका प्रहार गर्दै उनले विश्व क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने तेस्रो ब्याट्सम्यानका रुपमा खडा गरेका थिए । माष्टर ब्लाष्टर सचिन तेन्दुल्कर र वीरेन्द्र सहवागपछि दोहोरो सतक हान्ने उनी तेस्रो ब्याट्सम्यान थिए साथमा तेस्रो भारतीय पनि । प्लेयर अफ द म्याच समेत भएका रोहितको २ सय ९ रनको उत्कृष्ट पारीको मद्दतमा अष्ट्रेलियालाई ३ सय ८४ रनको लक्ष्य दिएको इण्डिया अन्तत: ५७ रनले विजयी भयो र सिरिज पनि ३–२ ले घरमै राख्न सफल भयो । 

कप्तान र दोहोरो सतक
कीर्तिमानी २ सय ६४ रनको ३ वर्ष एक महिना पुगेकै दिन २०१७ डिसेम्बर १३, टोली उही श्रीलंका, गृहमैदान मोहालीको आईएस बिन्द्रा स्टेडियम तर जिम्मेवारी क्याप्टेन । नियमित क्याप्टेन बिराट कोहली अभिनेत्री अनुष्का शर्मासँगको वैवाहिक बन्धनपछि विदेशमा रहेकाले रोहितको काँधमा जिम्मेवारी आएपनि पहिलो वन डेमा भोगेको लज्जास्पद हारले उनी अलि बढी दवावमा पक्कै थिए । ओपनर ब्याट्सम्यानका रुपमा मैदान उत्रिएका रोहितले २१ ओभर १ बलमा शिखर धवनसँगको १ सय १५ रनको साझेदारी ब्रेक हुँदा ६० बलको सामना गर्दै मात्र ४६ रन बनाएका थिए । तर दोस्रो विकेटका रुपमा श्रेयस ऐयरले उनलाई दरिलो साथ दिए ।

२ सय १३ रनको साझेदारीमा शर्मा एक्लैले ७६ वलमा एक्लै १ सय १४ रन जोडे । महेन्द्र सिंह धोनीसँग तेस्रो विकेटका लागि २६ रनको साझेदारीमा १८ रन बनाएका उनले हार्दिक पाण्डेयसँग चौंथो विकेटमा साझेदारी गर्दै मात्र १० बलमा ३० रन बनाए । २ सय ८ रनको नटआउट पारी खेल्दै गर्दा रोहितले १ सय ५३ बलमा १२ छक्का र १३ चौका प्रहार गरे । 

एकै इनिङ्समा सर्वाधिक दोस्रो रनको कीर्तिमान भने न्युजिल्याण्डका मार्टिन गुप्टिल नटआउट २३७, तेस्रोमा सेहवाग २१९, चौंथोमा वेष्टइण्डिजका क्रिस गेल २१५ रन छ । पाँचौ र छैठौं पनि शर्माले ओगट्दा माष्टर ब्लाष्टर तेन्दुल्कर नटआउट २०० रनमा सातौं नम्बरमा छन् ।  

क्रिकेटको १० वर्षे यात्रा
१९८७ अप्रिल ३० मा नागपुर महाराष्ट्रमा जन्मिएका रोहितले २० वर्षकै उमेरमा २००७ को जुन २३ मा आयरल्याण्डविरुद्धको प्लेइङ सेटमा मौका पाएका थिए । राहुल द्रविड क्याप्टेन रहेको इण्डिया ९ विकेटले विजयी हुँदा सचिन तेन्दुल्कर, सौरभ गांगुली, गौतम गाम्भिर, युवराज सिंह, दिनेश कार्तिक जस्ता ऊ बेला चलेका ब्याट्सम्यानका कारण रोहितले बल्ला चलाउने मौका पाएनन् । अनि त्यसपछि भने बारम्बार राष्ट्रिय टोलीमा स्थान बनाउँदै ‘क’ वर्गको ब्याट्सम्यान रोहितको ब्याट रोकिएको छैन ।

१ सय ७३ वटा वन डेमा जादुगरी ब्याटिङ गरेका उनले अहिलेसम्म ६ हजार ४ सय १७ रन बनाएका छन् जसमा १५ वटा सतक र ३४ वटा अर्धसतक छन् । मात्र २३ वटा टेष्ट र ६८ वटा ट्वान्टी–२० मा रोहितको जादुगरी ब्याटिङ जारी छ । उनले पहिलो अन्तराष्ट्रिय क्रिकेट भने सन् २००६ को जुलाई ११ मा न्युजिल्याण्डविरुद्ध खेलेका थिए, जुन बेला दोहोरो सतकधारी रोहित इण्डिया ‘ए’ का सदस्य थिए ।