खेलकुद

पाथीभरा भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्दै 

- आनन्द गौतमआनन्द गौतमआनन्द गौतमताप्लेजुङ

ताप्लेजुङमा जारी पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा आज नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा साविक विजेता पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफलाई हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।

उपाधि भिडन्त मैवाखोला गाउँपालिकास्थित साघुमा मध्यानह १२ बजे सुरु हुनेछ । आर्मीविरुद्ध मैदान उत्रदा डिफेण्डिङ च्याम्पियन पुलिस उपाधि रक्षाको लक्ष्यमा रहनेछ । आर्मी भने नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको फाइनलमा भोगेको बदला ताप्लेजुङमा लिने योजनामा रहेको छ । 

गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार र उप–विजेताले १ लाख ७६ हजार रुपैयाँ प्राप्त गर्नेछन । बैसाख २२ गते सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

बुधवारको खेलमा साविक विजेता पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफ क्लबलाई पराजित गरेका थिए । पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदा आर्मीले एपीएफलाई ३ - १ ले पराजित गर्यो ।  पाँच जना राष्ट्रिय खेलाडीलाई मैदान उतारेको पुलिसले २५–१८, २६–२४ र २५–१७ अंकको सोझो सेटमा गण्डकीलाई स्तब्ध बनाएको थियो ।

पुलिसलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक खेलको म्यान अफ द म्याच  घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । यी दुई टिमबीच पहिलो खेल भएको थियो । 

विभागीय दुई टोलीको भिडन्त निकै रोमाञ्चक बन्यो । आर्मीले एपीएफमाथी २५–२१, २५–२०, २०–२५ र २६–२४ अंकको जित निकाल्यो । आर्मी सात जना राष्ट्रिय टिमका खेलाडी सहित मैदानमा उत्रिएको थियो । यो खेलको म्यान अफदि म्याच आर्मीका धनबहादुर भट्ट घोषित भए ।