खेलकुद

चर्च ब्वाइज सेमिफाइनलमा

- अर्जुन राजवंशीबिर्तामोड

टाईब्रेकरमा जित निकाल्दै चर्च ब्वाइज युनाइटेड बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । डोमालाल राजवंशी रंगशालामा बिहीबारको अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले गोरखा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले पराजित गरेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका गोलकिपर विनय श्रेष्ठ नायक बने । उनले रुपन्देहीका बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको पेनाल्टी प्रहार रोकेका थिए ।

टाइब्रेकरमा चर्च ब्वाइजका उमेश राई, पाल्साङ लामा, राजेन्द्र रावल र कैलाश बस्नेतले गोल गरेका थिए । रुपन्देहीका तर्फबाट दीपक राई र रुपेश केसीको प्रहारले मात्र जाली चुमेको थियो । चर्च ब्वाइजले गोल्डकपको दोस्रो सेमिफाइनलमा शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

खेलमा अग्रता पनि चर्च ब्वाइजले लिएको थियो । ६१ औं मिनेटमा कप्तान सन्तोष न्यौपानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एलन मगरको लामो पास बललाई सन्तोषले आकर्षक गोल गरेका हुन् । सन्तोषले गोल गरेको दुई मिनेट पछि नै रुपन्देहीले खेल बराबरीमा ल्याएको थियो ।

रुपन्देहीका रुमेश बास्तोलाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । दीपक राईले गरेको फ्रिकिक बललाई विशाल राईले हेडमार्फत निकालिदिएको पासमा रुमेशले गोल गरेका थिए । 

टाइब्रेकरमा दुई गोल रोकेका चर्च ब्वाइजका गोलकिपर विनय श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपमा शुक्रबार पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र आक्रामक फुटबल क्लब सिक्किम भारतबीच हुनेछ ।