खेलकुद

च्याम्पियन्स लिग खेल्ने टटनह्यामको सम्भावना कायमै

एजेन्सी

टटनह्यामले युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । पछिल्लो खेलमा गएराती आर्सनललाई २–१ ले हराउँदै टटनह्याम तालिकाको आठौँ स्थानमा उक्लिएको हो । 

टटनह्यामको जितमा सन ह्युङ मीन र टोबे एल्डर विइरेल्डले गोल गरे । खेलमा अग्रता भने १६ औँ मिनेटमा अलेक्जेण्डर लाकाजेट्को गोलमा आर्सनलले बनाएको थियो । ३५ खेलबाट ५२ अंक जोडेको टटनह्याम पाचौँ स्थानको म्यानचेष्टर युनाईटेड भन्दा ६ अंकले पछि छ । समान खेलबाट आर्सनलको ५० अंक छ ।

गएराती नै लेष्टर सिटी रेलिगेशन जोनमा रहेको बर्नमाउथसँग ४–१ ले स्तब्ध भयो । पहिलो हाफमा १–० को अग्रता बनाएपनि दोस्रो हाफमा लय गुमाउदा लेष्टर लज्जास्पद हार ब्योहोर्न बाध्य भयो । ६७ औँ मिनेटमा काग्लर सायन्कु रातो कार्ड खांदै मैदानबाट बाहिरिएपछि लेष्टर १० खेलाडीमा सीमित बन्यो । 

हारपछि पनि लेष्टर ५९ अंकमा तालिकाको चौथो स्थानमा कायम छ । रेलिगेशन जोनबाट माथी उक्लने प्रयासमा रहेको बर्नमाउथ ३१ अंकमा १८ औँ स्थानमा पुगेको छ ।

गएराती नै एष्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–० ले तथा वुल्भरहेम्प्टनले एभर्टनलाई ३–० ले पराजित गरे ।