खेलकुद

खेलकुद गतिबिधि बढाउन अन्तर्राष्ट्रिय प्रतियोगीता आवश्यक : सदस्यसचिव सिलवाल

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले घरेलु खेलकुद गतिविधि बढाउन घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न आवश्यक रहेको बताउनुभएको छ । 

खेलकुदलाई चलायमान बनाएर खेलाडीको स्तर मापनका लागि पनि अन्तर्राष्ट्रिय प्रतियोगीता आवश्यक रहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै सदस्यसचिव सिलवालले अबको ध्यान घरेलु खेलकुद निकायलाई चुस्त दुरुस्त राख्दै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता भित्र्याउनु हुने उल्लेख गर्नुभयो । 

नयाँ खेलकुद ऐन कार्यान्वयनका लागी बिधि र पद्धतीको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै सिलवालले खेलकुद विकासका लागि भौतिक संरचना निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

सरकारले हरेक स्थानीय तहमा निर्माण गर्न लागेको खेलग्राम स्थापनाका लागि सबै पक्षबीचको समन्वयका लागि आफुले भुमिका खेल्ने उहाँले स्पष्ट पार्नुभयो । खेलकुद संघभित्रको बेथिती र सुशासनका लागी आफ्नो ध्यान केन्द्रित रहने बताउँदै सदस्यसचिव सिलवालले खेलकुद ऐनमा भएका प्रावधानले असहजताको अवस्था नरहने जिकिर गर्नुभयो ।

उहाँले खेलकुदको क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको भन्दै निजी क्षेत्रको संलग्नताबिना यसको विकास कठिन हुने उल्लेख गर्नुभयो ।