खेलकुद

अष्ट्रेलियन ओपन टेनिस खेल्न मेलवर्न पुगेका खेलाडी प्रभावित

- एजेन्सी

कम्तीमा चार जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि अष्ट्रेलियन ओपन टेनिस खेल्न कतारको दोहाबाट मेलवर्न पुगेका खेलाडी प्रभावित भएका छन् । चार्टर फ्लाईट मार्फत मेलवर्न उत्रिएका तीन जनामा हिजो र एक जनामा आज संक्रमण पुष्टि भएको हो । सोही जहाजबाट मेलवर्न पुगेका शीर्ष वरियताका भिक्टोरिया अजरेन्का, स्लोएन स्टेफेन्स, केई निसिकोरी, एङ्गेलिक केरबर र हेथर वाट्सन बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ ।

दुई वटा जहाजबाट मेलवर्न पुगेका करिब ४७ जना खेलाडी होटल मै आईशोलेसनमा रहेका छन् । ती मध्ये तीन जनाले अष्ट्रेलियन ओपनको जारी नियममा परिवर्तन नल्याए फेब्रुअरी ८ बाट हुने प्रतियोगिता खेल्न नपाउने बताएका छन् । करिब १४ दिनको क्वारेन्टिन बसाईपछि पीसीआर रिपोर्ट नेगेटिभ आएमात्र उनीहरु कोर्टमा फर्कने छन् । यद्यपि यो बीचमा उनीहरुको अभ्यास भने होटलको कोठामा सीमित हुने भएको छ ।