खेलकुद

अस्ट्रेलियन ओपन टेनिसमा नोभाक जोकोभिचको ह्याट्रिक

- एजेन्सीकाठमाडौं

सर्वियाका नोभाक जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । अस्ट्रेलियन ओपन टेनिसको उपाधिमा यो उनको ह्याट्रिक हो । 

पुरुष एकल तर्फ आज भएको फाइनलमा चौंथो वरियाताका रसियन ड्यानिएल मेद्भेदेभलाई सोझो सेटमा पराजित गर्दै शीर्ष वरियाताका जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि उचालेका हुन् । 

यो उनको नवौं अष्ट्रेलियन ओपन र १८ औं ग्राण्डस्लाम उपाधि हो । पहिलो सेटमा ७–५ को संघर्षपूर्ण जित निकालेका जोकोभिचले त्यसपछिका सेट भने ६–२ र ६–२ ले जितेका थिए । 

मेद्भेदेभले भने अहिलेसम्म ग्राण्डस्लामको उपाधि जित्न सकेका छैनन् । आजको फाइनलमा पराजित भएसँगै मेद्भेदेभको लगातार २० खेल लामो अपराजित यात्रामा समेत पूर्ण बिराम लागेको छ । 

 महिला एकल तर्फको उपाधि भने जापानकी नाओमी ओसाकाले जितेकी छन् । फाइनलमा उनले अमेरिकाकी जेनिफर ब्राडीलाई पराजित गरिन् ।