खेलकुद

एपीएफ ललितपुर मेयर्स कप प्रतियोगिताको फाइनलमा

- केएफएम डेस्ककाठमाडौं

सशस्त्र प्रहरीको एपीएफ अपराजित रहँदै ललितपुर मेयर्स कप महिला क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको दिन प्रदेश एकले भने प्रतियोगितामा सुखद अन्त्य गरेको छ । 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै एपीएफ सतप्रतिशत नतिजा सहित फाइनलमा पुगेको हो । 

८ अंक जोडेको एपीएफले उपाधिका लागि पर्सि शनिबार सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम ६ अंकमा दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेको हो । लुम्बिनी अंकबिहीन रह्यो भने प्रदेश एकको ४ र ललितपुर मेयर्स ११ को २ अंक रह्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । लक्ष्मी चौधरीले ३५ र क्याप्टेन नेरी थापाले नटआउट २७ रन बनाएपनि हार भने टार्न सकिनन् ।

पहिला व्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रनको योगफल तयार पारेको थियो । ममता चौधरीले ४७ र क्याप्टेन सीता राना मगरले २८ रन बनाएकी थिइन् । 

आजै भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई १५ रनले पराजित गर्दै प्रदेश एकले प्रतियोगितामा सुखद अन्त्य गर्‍यो । प्रदेश एकले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । 

अनुराधा चौधरीले २८ र सुमन खतिवडाले २७ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन । रुबिना क्षेत्रीले प्रदेश एकका लागि ३ विकेट लिईन् ।

यसअघि पहिला व्याटिङ गरेको प्रदेश एकले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय २८ रनको योगफल तयार पारेको थियो । उसका लागि रोमा थापाले नटआउट ६६ र अप्सरी बेगमले २६ रन बनाईन् ।