खेलकुद

म्यानचेष्टर युनाईटेड, सिटीसँगको दुरी खुम्च्याउँदै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

ईङ्लिश प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेष्टर युनाईटेडले शीर्ष टोली म्यानचेष्टर सिटीसँगको दुरी ११ अंकमा झारेको छ । पछिल्लो खेलमा गएराती टटनह्यामलाई ३–१ गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि होड कायमै राखेको हो । 

टटनह्यामलाई उसैको मैदानमा पराजित गर्दै युनाईटेडले महत्वपुर्ण अंक प्राप्त गरेको हो । खेलको पहिलो हाफभर १–० ले पछि परेको अवस्था उल्टाउँदै युनाईटेडले पुनरागमन जित निकालेको हो । ४० औं मिनेटमा सन ह्युङ मीनले गोल गर्दै टटनह्यामलाई पहिलो हाफभर १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आक्रामक बनेको म्यान युनाईटेडका फेडरिको रोड्रिग्वेजले ५७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७९ औं मिनेटमा ईडिसन काभानी र ईन्ज्युरी समयमा मासन ग्रीनउडले गोल गर्दै टोलीलाई जित दिलाए ।

३१ खेलबाट ६३ अंक जोडेको युनाईटेड दोस्रो स्थानमा बलियो बनेको छ । गएराती नै आर्सनलले सेफिल्ड युनाईटेडलाई ३–० ले पराजित गर्यो । पुछारको टोली सेफिल्डलाई हराउन आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले २ तथा ग्राबियल मार्टिनीलीले एक गोल गरे । यो जितले आर्सनललाई ४५ अंकमा तालिकाको नवौं स्थानमा पुर्याएको छ ।

तेस्रो स्थानको लेष्टर सिटी भने वेष्टह्यामसँग ३–२ गोल अन्तरले पराजित भयो । न्यु क्यासल युनाईटेडले बर्नलीलाई २–१ गोल अन्तरले हरायो ।