खेलकुद

नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले भने, 'फाइनलमा प्रतिबन्ध लगाएर साफले अन्याय गर्‍यो'

- केएफएम डेस्ककाठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि लगाएको प्रतिबन्ध प्रति असन्तुष्टि जनाएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा साफले आफ्नो नियमावली विपरीत फाइनल खेलका आफूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताएका हुन् । 

प्रशिक्षक अलमुताईरीले भने, ‘साफले अन्याय गरेको छ । मसँग व्यक्तिगत रिसइबी साँध्न यस्तो कारबाही गरेको भन्ने लाग्छ । यो कारबाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारबाही भएको हो ।’

प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास) मा समेत जाने बताए । साफले फाइनल खेलाउने आफ्नो सपना चकनाचुर पारिदिएकोमा अलमुताईरीले गम्भीर चिन्ता प्रकट गरे । 

भारतका प्रशिक्षक उपस्थित नहुने भएकाले आफूलाई पनि साफले कारबाही गरिएको भन्दै उनी दु:खी भए । अलमुताइरीले नियम विपरीत कारबाही गरे साफले फुटबल विकास बारे कुरा गर्नु पनि बेकार हुने बताए । आफनै नियम नमान्ने साफबाट केही पनि राम्रो आश गर्न नसकिने उनको जिकिर छ । 

प्रशिक्षक अलमुताइरीले भने, ‘खेल मैदानभित्र खेल्ने हो, मैदान बाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारबाही गर्नु ठिक भएन ।’ 

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताएका छन् । प्रशिक्षक अलमुताइरीलाई लगाइएको प्रतिबन्ध बारे एन्फाले एएफसी र साफसँग छलफलको प्रयास भईरहेको जनाएको छ ।