राष्ट्रिय महिला हक्कीको उपाधि त्रिभुवन आर्मीले उचाल्यो
- पर्सासहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको चौंथो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिबार वीरगञ्जस्थित आदर्शनगर रंगशालामा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
आर्मीका लागि खेलको ५२ औं मिनेटमा सरस्वती तामाङले गरेको गोल निर्णायक बन्यो । सुदूरपश्चिमले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
बलियो मानिएको आर्मी टीमलाई मध्यान्तर अघिसम्म सुदूरपश्चिमले कडा टक्कर दिएको थियो । मध्यान्तरपछि सुदूरपश्चिमका खेलाडी केही थकित देखिए भने आर्मीका खेलाडी आक्रामक बनेको थियो ।
यस्तै, तेस्रो स्थानका लागि आजै भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित गर्यो । खेल अवधि भर दुबै टीमले १–१ गोल गरेर खेल बराबरी भएपछि पेनाल्टी शुट आउटबाट निर्णय लिइएको थियो ।
पेनाल्टीमा गण्डकीले २ र मधेशले १ गोल गरेको थियो । प्रतियोगिताको विजेता आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिम प्रदेशले ३५ हजार रुपैयाँ र तृतीय स्थानको गण्डकी प्रदेशमा १५ हजार रुपैयाँमा चित्ता बुझायो ।
आर्मीकी सितामाया बल वुमन अफ द म्याच घोषित भईन् । आर्मीकी अन्जना चन्द ठकुरी उत्कृष्ट खेलाडी, सुदूरपश्चिमर्की सविना पुन राना इमर्जिङ्ग खेलाडी, गण्डकी प्रदेशकी समीक्षा पुन उत्कृष्ट गोलकिपर, आर्मीकी कमल चन्द सर्वाधिक गोलकर्ता र सुदूरपश्चिमकी सन्जु चौधरी बेष्ट डिफेन्डर घोषित भइन् ।