खेलकुद

नेपाल नफर्कने अलमुताइरीको संकेत

अखिल नेपाल फुटबल संघ एन्फामा पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमिति निर्वाचित भए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् । गएराति नेम्वाङ निर्वाचित भए लगत्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी पोष्ट गर्दै अलमुताईरीले नेपाल नफर्कने सङ्केत गरेका हुन् । उनले लेखेका छन्, ‘नेपाल सधैं मेरो हृदयमा रहने छ । तर, सबै कथाको अन्त्य हुन्छ । माया र सहयोगका लागि हार्दिक कृतज्ञता ।’ उनले नेपाली फुटबलको उज्जवल भविष्यको कामना गर्दै नेपाली प्रशंसकलाई पनि धन्यवाद दिएका छन् । आफ्नो नेपाल बसाई उत्कृष्ट भएको उनले लेखेका छन् । प्रशिक्षक अलमुताइरीले हाल सो स्टोरी इन्स्टाग्रामबाट हटाइसकेका छन् ।

एएफसी एसियन कपको छनोट खेल्न कुवेत पुगेका अलमुताईरी हाल उतै छन् । पछिल्लो समय अलमुताइरी र विवाद एक अर्काका पर्याय जस्ता भएका छन् । अलमुताइरीले नेम्वाङलाई देखाएर गत साउनमा राजीनामा घोषणा गरेसँगै विवादको विजारोपण भएको थियो । सामाजिक सञ्जालमा राजीनामा घोषणा गरे पनि अलमुताइरीले राजीनामा दिएनन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि विवाद उत्कर्षमा पुगेको थियो । पछि अलमुताइरीले ती १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङलाई बाहिर राखेर नेपाली टोली घोषणा गरेका थिए ।