खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो । 

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङ्ग गरेको प्रदेश १ ले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । 

प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित ४८ रनको योगदान गरिन् । कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् । बलिङतर्फ सुदूरपश्चिम प्रदेशका लागि मनिषा चौधरीले २ तथा रितु कनौजियाले एक विकेट लिईन् ।

यसअघि १ सय २ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई जित दिलाउन सम्झना खड्काले २७ र कविता जोशीले १९ रनको अविजित पारि खेलिन् । त्यस्तै, डोली भट्टले २२ रनको योगदान गरिन् । 

बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, रुबिना क्षेत्री, संगीता राई र हिरनमाई रोयले समान एक/एक विकेट हात पारिन् । प्रतियोगिताको विजेता सुदूरपश्चिमले ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।