खेलकुद

नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस निर्वाचित

- केएफएम डेस्क काठमाडौं

नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान र खेलाडी पारस खड्का क्रिकेटको व्यवस्थापकीय निकाय नेपाल क्रिकेट संघ क्यानको पदाधिकारी बनेका छन् ।

क्रिकेटबाट सन्न्यास लिएको दुई बर्षपछि पारस क्रिकेट संघको सचिवमा निर्वाचित भएका छन् । क्रिकेट छाडेपछि व्यवस्थापकीय निकायमा आउने योजना राखेका उनले पहिलो प्रयासमै संघको सचिव बन्ने मौका पाएका हुन् ।

क्यानको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा पारसले निवर्तमान केन्द्रिय सदस्य प्रशान्तविक्रम मल्ललाई पराजित गरे । खड्काले ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मल्लले ३७ मत प्राप्त गरेका थिए । 

पारस खड्काले राष्ट्रिय टोलीमा सन् २००२ मा डेब्यू गरेका थिए । यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका खड्काले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । क्रिकेट विकासका लागि नीतिगत सुधार गर्न भन्दै उनले २ वर्ष अघि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए ।

यसैबीच, क्यान को अध्यक्षमा चतुरबहादुर चन्द र उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन् । चन्द यसअघि पनि क्यानको अध्यक्ष थिए । त्यस्तै, कोषध्यक्षमा पदमबहादुर खड्का निविरोध चयन भएका छन् । लुम्बिनी प्रदेशबाट प्रदीप मजगैयाँ र कर्णाली प्रदेशबाट श्रीधर केसी केन्द्रिय सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघको ५ खुला सदस्य र ५ प्रदेश सदस्यका लागि पनि आजै निर्वाचन भएको थियो ।